पोखरा नगर कार्यपालिकामा एमालेको प्यानल विजयी  ४३ सदस्यिय कार्यपालिकामा एमाले ३२, कांग्रेस ११

पोखरा २६ जेठ । नगर सरकारको रुपमा चिनिने पोखरा लेखनाथ महानगरपालिकाको नगर कार्यपालिकामा एमालेको प्यानल विजयी भएको छ । शुक्रवार सम्पन्न निर्वाचनबाट नगर कार्यपालिकाको लागि पाँच महिला र तीन दलित वा अल्पसंख्यकमा सबै एमाले उम्मेदवार विजयी भएका हुन् ।
पोखरा लेखनाथ महानगरको कार्यपालिकाको लागि महिला सदस्यमा एमालेबाट पुष्पा पहारी, मन्वुजा विक, यसोदा केसी भट्टराई, राधिका कुमारी शाही र सन्तुदेवी सुवेदी निर्वाचित भए । दलित वा अल्पंख्यकमा पनि एमाले उम्मेदवार ओम प्रसाद गौचन, चतुरे विक र बुधराज भुजेल निर्वाचित भएका छन् ।
यो सँगै पोखरा महानगरमा ४३ जनाको नगर कार्यपालिका गठन भएको छ । जसमा एमालेका ३२ र कांग्रेसका ११ जना छन् । नगर कार्यपालिकामा महानगरको प्रमुख र उप प्रमुख र ३३ वटै वडाको अध्यक्ष पदेन सदस्य रहने ब्यवस्था छ भने पाँच महिला सदस्य र दलित वा अल्पंख्यक तीन सदस्यको लागि मात्रै निर्वाचन भएको थियो ।
कार्यपालिकाको महिला सदस्यका लागि कांग्रेसले कांग्रेसको तर्फबाट गोमा सुवेदी, तीर्थ कुमारी गुरुङ, लक्ष्मी पराजुली , बिष्णु माया परियार र सीतादेवी वास्तोलालाई उम्मेदवार थिए । त्यस्तै दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसको तर्फबाट अशोक कुमार भट्टचन, ध्रुब बहादुर विश्वकर्मा र सुस्मिता परियार प्रतिश्पर्धामा थिए ।
पोखरा लेखनाथ महानगरमा निर्वाचित १६७ मध्ये एमालेका ११९ र कांग्रेसका ४८ जना मतदाता थिए । बहुमत मतदाता रहेकाले कार्यपालिकाको महिला र दलित तथा अल्पसंख्यक सदस्यमा एमालेले प्यानल सहितको जित हात पारेको हो । एमाले उम्मेदवार बुधराज भुजेललाई ११८ मत मात्र परेको र अन्य सदस्यलाई एमालेको सबै मत अर्थात् ११९ मत परेको थियो ।
कार्यपालिकाको महिला सदस्यमा यसअघि निर्वाचित भएका महिला मध्येबाटै उम्मेदवार तय गरी निर्वाचित गरिएको हो भने दलित वा अल्पसंख्यक सदस्यमा यसअघि निर्वाचित भएका बाहेक महानगरको मतदाता मध्येबाट पार्टीले तय गरेका उम्मेदवार निर्वाचित भएका हुन् । पोखरा लेखनाथ महानगरपालिकामा एमाले र कांग्रेस बाहेक अन्य कुनैपनि दलका उम्मेदवार निर्वाचित नभएकाले कार्यपालिकाको लागि दुई दलको विचमा मात्रै प्रतिश्पर्धा भएको थियो ।
‘कास्कीको हकमा नगर गाउँको निर्वाचन अब सकियो । जिल्ला समन्यव समितिको निर्वाचत तालिका आएपछि हुनेछ । ’ क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकारी गंगालाल सुवेदीले भने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*